
काठमाडौ, साउन १४ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १५ दशमलव ११ अंकले घटेर तीन हजार ७९ दशमलव ८३ अंकमा सिमित रहेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४७ अंकले घटेर पाँच सय ७० दशमलव ८५ अंकमा सिमित रहेको छ । नेप्सेमा आज दुई सय १७ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय ८२ पटकको कारोवारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच भएको छ भने कारोवार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन र विकास बैंक समुहको सुचक बढेकाछन् भने वाणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरुको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरुतर्फ भने आज रिडी हाईड्रो पावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने गुडविल फाईनान्स, माउन्टेन हाईड्रो नेपाल लिमिटेड, जोशी हाईड्रो पावर लिमिटेड आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज गुडविल फाईनान्स, हिमालयन डिष्ट्रिलरी प्राली, ङादी ग्रुप पावर लिमिटेड, नेशनल हाईड्रो पावर कम्पनी लिमिटेड आदि परेकाछन् ।