Kath Khabar
खरिद गर्न छुटाउनुहोला ! १ अर्ब ५६ करोडको हकप्रद शेयर निष्काशन हुँदैछ

काठमाडौं, साउन १९ । साधारण शेयर खरिद गरेका लगानीकर्ताले खरिद गर्न पाउने राइट शेयर अर्थात हकप्रद शेयर १ अर्ब ५६ करोडको निष्काशन हुँने तयारीमा छ । ६ वटा कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको धितोपत्र बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन स्वीकृति अन्तीम चरणमा पुगेको छ । २४ करोड रुपैयाँ बरारको २४ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न दिने काम बोर्डले टुंगो लगाउन लागेको छ ।

त्यसैगरि छ्याङदी हाइड्रोपावरले पनि ८ करोड ९३ लाखको हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यसको पनि एक्सेल डेभलपमेन्ट बैंकको जस्तै स्वीकृतिको काम अन्तिम चरणमा रहेको छ ।

त्यसैगरि कर्पाेरेट डेभलपमेन्ट बैंकले पनि ३० करोड मूल्य पर्ने ३० लाख कित्ता शेयर निष्काशनमा बोर्डले स्वीृकतिको प्रक्रिया अघि बढिसकेको छ । बोर्डले अध्ययन गरेर कम्पनीसँग केहि जवाफ माग गरेको बोर्डले जनाएको छ।

तीनवटा कम्पनीको हकप्रद शेयर निष्काशनको भने हालैमात्रै निवेदन आएको छ । सिखर इन्सुरेन्सले ५२ करोड ५५ लाख, नारायणी बिकास बैंकले १३ करोड १२ लाख  र समृद्धि फाइनान्सको २७ करोड २९ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेका छन् । जसको अहिले बोर्डले प्रारम्भीक अध्ययनको काम अघि बढाएको छ ।

के हो हकप्रद अर्थात राइट शेयर ?

विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यस प्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

कम्पनीले पूँजी वृद्धि गर्न आफ्ना विद्यमान शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी हकप्रद निष्काशन गरेको हुन्छ । जुन हकप्रद शेयर खरिद गर्न लगानीकर्ताले तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । साधारणतया कम्पनीहरुले एक सय रुपैयाँको दरमा हकप्रद शेयर निष्काशन गर्छन् । हकप्रद कम्पनीको चुक्ता पूँजीको अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ ।

कुनै एउटा कम्पनीको चुक्ता पूँजी एक अर्ब छ र उक्त कम्पनीले उक्त चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्छ भने त्यसलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन भन्ने बुझिन्छ । अर्थात्, कुनै कम्पनीको एक सय कित्ता शेयर हुनेले उक्त कम्पनीबाट थप एक सय कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन् । कम्पनीले जारी गर्ने हकप्रद शेयर उक्त कम्पनीको बजार मूल्यभन्दा कम मूल्यमा विक्री गरिन्छ ।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरवालाहरु स्वतन्त्र हुन्छन् । विद्यमान शेयरवालाहरुले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update