भारत, वैशाख, २८ । भारत र पाकिस्तान दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्। केही दिनदेखि सीमापारि सैन्य आक्रमण गर्ने क्रमलाई तत्काल रोक्ने गरी 'पूर्ण युद्धविराम' घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति "उल्लङ्घन गरेको" आरोप लगाएका हुन्।
युद्धविराम लागू भए पनि जम्मु-कश्मीर क्षेत्रमा तनाव कायमै छ। सहमत भएको केही घण्टापछि भारत नियन्त्रित कश्मीरका दुई ठूला शहरहरूमा धेरै विस्फोटहरू सुनिएका थिए। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेको छ। शनिवार राति भारत-प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले "हामीले गरेको सहमतिको पटकपटक उल्लङ्घन" भएको बताए।
त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले "केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको" प्रत्यारोप लगायो। तर उसले पाकिस्तान "युद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्ध" भएकोमा जोड दियो। पाकिस्तानले युद्धविरामको पालना गरिरहेको दाबी गर्दै भारतको आरोप अस्वीकार गर्यो र कूटनीतिक संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । भारत र पाकिस्तानबीच गत बुधवार मध्यरापछि चलेको लडाइँलाई केही दशकयताको सबैभन्दा नराम्रो सैन्य द्वन्द्व मानिएको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा भारत र पाकिस्तानबीच युद्धविरामको सहमति घोषणा गर्दै त्यसका लागि अमेरिकाले मध्यस्थता गरेको बताएका थिए। पछि भारत र पाकिस्तानका अधिकारीहरूले सहमति भएको पुष्टि गरे। पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न "तीन दर्जन देशहरू"को कूटनीतिक संलग्नता भएको बताए। तर त्यसको केही घण्टापछी भारत-प्रशासित कश्मीरका श्रीनगर र जम्मू क्षेत्रमा स्थानीय बासिन्दा तथा बीबीसी संवाददाताहरूले विस्फोटनहरूको आवाज सुनेको र आकाशमा उज्यालो र चम्किलो बस्तुहरू देखिएको विवरणहरू दिएका थिए।
भारतमा स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा भारतीय विदेश सचिव विक्रम मिसरीले भने, "केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता शनिबार अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।" उनले भने,"भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ। यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।"
यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए। भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।
भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए,"संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।"
त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने,"कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन्। यहाँ पूरै ब्ल्याक आउट गरिने छ।" दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेले श्रीनगरमा रहेका बीबीसीको टोलीले पनि विस्फोटका आवाजहरू सुनेको बताएका जनाएका छन्। तर उनी भन्छन् त्यस्तो विस्फोटको आवाज कताबाट आएको हो स्पष्ट भैसकेको छैन।
भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका थिए। शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, "यो पाकिस्तानको ऐतिहासिक जित हो।" उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।
शरीफले सम्बोधनको सुरुवात गर्दै भने, "यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।" उनले दाबी गरे - उनको देशविरुद्ध लगाइरहेको आरोप "निराधार" छ र उनी यसको जाँच होस् भन्ने चाहन्छन्। शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन। र त्यसलाई दीर्घकालीन बनाउने अबको काम हो।"
भारत प्रशासित कश्मिरको पहलगाममा भएको हमलामा एकजना नेपाली नागरिक सहित २६ जना मारिएपछि उत्पन्न दुई हप्ता लामो तनावपछि भारत र पाकिस्तानबीच पछिल्लो संघर्ष सुरु भएको थियो। २२ एप्रिलमा भएको आक्रमणबाट बाँचेकाहरूले आक्रमणकारीहरूले हिन्दू पुरुषहरूलाई छानीछानी मारिदिएको बताएका थिए।
बुधवारदेखि सुरु भएको सीमापार भारतीय आक्रमणमा पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा ३६ जना मारिएको पाकिस्तानले जनाएको छ भने भारतीय सेनाले पाकिस्तानी हमलाका कारण कम्तीमा २१ जना सर्वसाधारण मारिएको बताएको छ। (बीबीसी नेपाली)