
काठमाडौं, भदौं १४ । श्रीलंकन एयरलाइन्सले काठमाडौं-कोलम्बो उडान भर्ने भएको छ । मंगलबारबाट काठमाडौं-कोलोम्बो उडान भर्न लागेको एयरलाईन्सले हप्तामा दुई वटा उडान भर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सिधा उडानको लागि अनुमति दिइसकेको बताएको छ । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हालको लागि भने एयरलाईन्सले एक सातको लागि मात्रै उडान अनुमति लिएको बताउनु भयो।
प्राधिकरणले जारी गरेको उडान अनुमतिपत्रमा भनिएको छ, “हाललाई ३१ अगस्ट देखि ४ सेप्टेम्बरसम्म समर सेड्युललाई उडान अनुमति दिइएको छ ।” सोहि क्रममा मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ ।
कोलम्बो-काठमाडौं-कोलम्बो सेक्टरमा न्यारो बडी र वाइडबडी (एयरबस ३३३,३२०,३२१) विमानले नेपालमा उडान भर्नेछ । श्रीलंकन एयरलाइन्सको विमान बन्दरानाइके अन्तराष्ट्रिय विमानस्थल कोलम्बोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मंगलबार तथा शनिबार ९ बजेर ४० मिनेटमा अवतरण गर्ने छ । यस्तै १० बजेर ४० मिनेटमा उक्त विमान कोलम्बो उड्नेछ ।
पहिला सिधा उडान नरहेकोमा सरकारले पहिलोपटक सिधा श्रीलंका जाने गरी सेवा सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, एयरबस ३३३ मा २९७, ३२० मा एक सय ५० सिट र एयरबस तीन सय २१ मा एक सय ६९ सिट क्षमता रहेको छ ।
तत्कालको उडानमा नेपाल आउनेको हकमा श्रीलंकनले नेपालले तोकेको स्वास्थ्य मापदण्ड (पीसीआर, ७ दिनको होटल बुकिङ, सीसीएमसीको फारम भर्नुपर्ने लगायत) पालना अनिवार्य गर्नुपर्ने सर्तसहित उडान अनुमति दिइएको हो । सिधा उडानले गर्दा श्रीलंका र माल्दिभ्सको गन्तव्यमा जाने यात्रुका लागि सहज हुने प्राधिकरणको भनाई रहेको छ । काठमाडौं-कोलम्बो सिधा उडानले नेपाल र श्रीलंकामा रहेका बौद्धमार्गी पर्यटकको लागि दुई मुलुक आवतजावत गर्न सहज हुने छ ।