Kath Khabar
नेप्सेमा १३ महिनापछि नकारात्मक सर्किट ब्रेक, अब कुन क्षेत्रमा बढाउने लगानी ?

काठमाडौं, भदौं २१ । यससअघि कोभिड महामारीले करिब तीन महिना बन्द भएर खुलेको बजार १३ महिनाअघि नकारात्मक सर्किट लागेको थियो । जुन आइतबार दोहोरिएको छ । १३ महिना अघि ६ प्रतिशतले बजार घटेर पुरै दिनका लागि कारोबार बन्द भएको थियो भने आइतबार ५ प्रतिशतले घटेर ४० मिनेटका लागि मात्रै बजार बन्द भएको छ ।  

आइतबार बजार खुलेको २ घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । सुरुमा १ सय ४७ अंकले घटेको बजार ४० मिनेट बन्द भएर खुलेपछि केही सम्हालियो । परिसूचक २८ सय १८ दशमलव सात अंक कायम भएपछि बजार बन्द भयो । शेयर बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँबाट आइतबार  ३९ खर्ब ४५ अर्बमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले एक वित्तीय संस्थाबाट ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाउन व्यवस्था गरेको प्रभावस्वरुप नेप्सेमा गिरावट आएको हो । यसअघि अस्वाभाविक रुपमा बढेका जलविद्युत, वित्त र विकास बैंक समूहको परिसूचक आइतबार धेरै घटेको देखिएको छ ।

आइतबार वित्त समूहको परिसूचक सबैभन्दा धेरै ८ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक समूहको परिसूचक ७, जलविद्युतको साढे ६ र व्यापार समूहको परिसूचक ६ प्रतिशतले घटेको छ । शेयरबजारमा आइतबार एकै दिन लगानीकर्ताको सम्पत्ति डेढ खर्बले घटेको छ ।

बिशेषगरी अस्वाभाविक भाउ बढेका जलविद्युत, वित्त र विकास बैकमा लगानी गरेका लगानीकर्ताले आइतबारको बजारमा ठूलो रकम गुमाउनु परेको छ । बजार मापन गर्ने परिसूचक १ सय ८ अंकले घट्दा लगानीकर्ताले एकैदिन करिब डेढ खर्ब रुपैयाँ गुमाउन पुगेका हुन्।

बिश्लेषकहरु बजार डेढ महिना जति अझै ओरालो लाग्ने बताउँछन् । करिब २७ सय अंक सम्म झरेर बजार फर्कन सक्ने उनिहरुको भनाई छ । यो समयमा नघटेका बैक तथा बिमा कम्पनीमा भने लगानीकर्ताले लगानी गर्न सक्छन् । किनभने ति कम्पनीहरुको भाउ अहिलेसम्म अस्वाभाविक रुपमा बढेको छैन ।

लाभांशदरलाई ख्याल गरी लगानी गर्ने लगानीकर्ताहरु अझै पनि बजारमा प्रवेश गर्दा हुने देखिन्छ । तर, लाभांश दिने क्षमता नराख्ने अस्वाभाविक रुपमा बढेका कम्पनीमा भने लगानीकर्ता सचेत हुनुपर्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update