
काठमाडौं, भदौ २९। साहस ऊर्जा लिमिटेडले ७० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल मार्फत यही असोज छ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
कम्पनीको अनुसार बिक्री गरिने कुल शेयर मध्येमा सामुहिक लगानी कोषको लागि पाँच प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता र कर्मचारीहरुको लागि तीन प्रतिशत अर्थात दुई लाख १० हजार कित्ता शेयर छुट्याइएको छ । यसबाहेक बाँकी ६४ लाख ४० हजार कित्ता भने सर्वसाधारणको लागि बिक्री गरिने छ ।
शेयर खरिदको लागि लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी तीन अर्ब ५० करोड तथा जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुंजी दुई अर्ब ४५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित एवं सर्वसाधारण सबैको लागि छुट्याएको शेयर बिक्री पश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीको शेयर बिक्री कार्य छिटोमा यही असोज १० गते र ढिलोमा असोज २० गते बन्द हुनेछ ।