Kath Khabar
३२ सयको बजार २६५१ मा खस्दा लगानीकर्ताको सम्पत्तिमा ७ खर्बको गिरावट  

काठमाडौं, असोज १५ । भदौ २ गते शेयरबजार ३१ सय ९८ अंकमा पुगेको थियो । अझ १ गते त बजार ३२ सयमा पुगेर ३१८० मा आएर बन्द भएको थियो । अर्थात ३२ सयमा पुगेको बजार डेढ महिनाको अन्तरालतमा ५ सय ६५ अंकले घटेर २६ सय ५१ मा आइपुगेको छ। बैंकको बढ्दो ब्याजदर, नियामक निकायको शेयरकर्जामा कडाई र चाडपर्ब नजिकिएकाले गर्दापनि बजारमा गिरावट आएको हो । 

तरलता अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । यता शेयर कर्जा पनि बैंकहरुले कम गर्दै लगेका छन् । बैंकहरुको लगानी राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्र तोकेकोमा केन्द्रित भएकाले शेयरकर्जा पाउन पनि लगानीकर्ताहरुलाई कठिन हुन थालेको छ । जसको सिधा असर बजारमा देखिएको हो ।  

बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत पुराएका छन् । तरलताको अभाव चर्किएकाले कात्तिकमा यो अझै बढ्ने देखिन्छ । बढ्दो ब्याजका कारण लगानीकर्ता प्यानिक भएका छन्, जसको असर बिहिबारको बजारमा पनि देखिएको छ । बिश्लेषकहरु बजार अझै ताल जान सक्ने बताउँछन् । साथै बजार ह्वात्तै बढेकाले यसरी झर्नुलाई पनि स्वाभाविक मान्नुपर्ने तर्क गर्छन् ।  

बजार अब ठूलो अंकमा नझरेपनि अझै केहि अंक तलसम्म ओर्लने उनिहरुको आँकलन छ। चाडपर्वका कारण कैयनले सामान खरिदका लागि समेत शेयर बेचेका छन् । जसको असर पनि बजारमा  परेको छ ।  

करिब डेढ महिनाको अन्तरालमा लगानीकर्ताको सम्पत्ति समेत ७ खर्ब ८२ अर्बले घटेको छ । भदौ २ गते ४४ खर्ब ६८ अर्ब रहेको लगानीकर्ताको सम्पत्ति बिहिबार ३६ खर्ब ८६ अर्बमा सिमित हुन पुगेको छ।  

लगानीकर्ताहरुले बढेको बजारमा नाफा बुक गर्न खोजेकाले पनि शेयर बजार घटेको हो । त्यसैगरि नियामक निकायहरुले पछिल्लो समय शेयरबजार प्रभावित हुने गरि बनाएका नीतिलेपनि नेप्सेको ओरालो यात्रामा बल पुराएको छ । राष्ट्र बैंकले शेयरकर्जा एक ब्यक्ति वा संस्थाले १२ करोड भन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । जसको असर पनि शेयरबजारमा परेको हो । 

ब्याज माथि जान नपाओस् भनेर राष्ट्र बैंकले पटक-पटक गरेर डेढ खर्बको अन्तरालमा १ खर्ब १० अर्बको रिपो जारी गरिसकेको छ। तरपनि ब्याजदर उकालो लाग्न  र तरलता अभाव हुन छाडेको छैन ।  

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update