Kath Khabar
पहिरोका कारण इलामको शून्य किलोमिटर सडक खण्ड बन्द

काठमाडौं, असोज १६ ।  मेची राजमार्ग अन्तर्गत पर्ने इलामको शून्य किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्ड पहिरोको कारण बन्द हुन पुगेको छ । पहिरोका कारण शनिबार बिहान देखि सवारी साधन चल्न नसकेको प्रहरीले जानकारी दिएको छ । तत्काल सवारी साधन पठाउन कठिन रहेको प्रहरीको भनाई छ ।

शून्य किलोमिटरदेखि धोबीधाराको बीचमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले सवारी साधन चल्न नसकेको हो । प्रहरीका अनुसार पहिरोले ५० मिटरजति सडक नै भासिएकाले तत्काल यसलाई मर्मत गर्न सक्ने अवस्था छैन। साना सवारीसाधनलाई वैकल्पिक बाटो बाटोबाट पठाइएको भए पनि ठूला भने चल्न सक्ने वैकल्पिक बाटो नहुँदा समस्या भएको छ ।

सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी शून्य किलोमिटरसम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी धोबीधारामै रोक्किन पुगेको छ । सो क्षेत्रमा हाल सवारी साधनको लामो लाईन देख्न सकिन्छ । तत्काल सडक खुलाउन सक्ने स्थिति नहुदाँ यात्रुहरु समस्यामा पर्नु भएको छ ।

वैकल्पिक बाटो साधुरो हुदाँ बस,ट्रक लगायतका ठूला सवारी साधन जान नसक्दा यात्रुहरुलाई समस्या हुन पुगेको एक स्थानीयले बताउनु भयो ।

 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update