
काठमाडौं, असोज १९ । न्यादी हाइड्रोपावरले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज १५ गतेदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयरको बिक्री खुला गरेको थियो।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।