
काठमाडौं, असोज २० । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) बुधबारबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नु हुनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।