
पर्वत, कार्तिक १४। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा राफ्टिङ ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाव घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।
यो जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना सङ्क्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् । कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्रा राफ्टिङ का लागि पर्यटक नआएको कालीगण्डकी राफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या शून्यजस्तै भएको छ ।
अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एक/दुई दिनका लागि मात्र भएको उहाँको भनाइ छ । विदेशी पर्यटक नेपाल भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बनेको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण न्यूनीकरण हुँदै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनै देशका पर्यटक नआएको पुनले बताउनुभयो । सलोन राफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडिसन कम्पनी काठमाडौँका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५/७ प्रतिशत मात्र पर्यटक भित्रिएकाले राफ्टिङ व्यवसाय चौपट बनेको बताउनुभयो । पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांश ट्रेकिङमा रहेको र उनीहरु काठमाडौँ फर्किसकेपछि राफ्टिङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
विगत दुई वर्षअघि लामोसमय वर्षा भएकाले एक/दुई साता मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको उहाँको भनाइ छ । पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए । कोरोनाले अग्रिम बुकिङ गर्ने, राफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन् । रेग्मीले भन्नुभयो, “कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले राफ्टिङ सञ्चालन गर्दै आएका थिए ।” कुश्मा नगरपालिका– १ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने राफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अष्ट्रेलिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँ पुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गर्दछन् ।
यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्माको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नवीन केसीले बताउनुभयो । जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।
(रासस)