
काठमाडौं, कात्तिक २५। २४ वटा कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर अर्थात् आइपिओ निष्कासनको तयारी थालेका छन् । तर, नियामक निकाय धितोपत्र बोर्ड नेतृत्व विहीन हुँदा शेयर निष्कासन सम्बन्धी निर्णय अघि बढ्न सकेको छैन ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई भित्री कारोबारमार्फत शेयर हात पारेको आरोप लागेपछि अर्थ मन्त्रालयले असोज १९ गते बर्खास्त गरेको थियो । त्यसपछि बोर्ड नेतृत्वविहीन छ । त्यही कारण आइपिओ निष्कासनका लागि अध्ययन तथा स्वीकृतिमा ढिला भएको छ ।
बोर्डले ६ वटा कम्पनीको आइपिओ जारीगर्न प्रक्रियागत रुपमा सबै काम सकेको छ । बिन्ध्यबासिनी, हिमालयन, बलेफी, ग्रीन भेन्चर, दोर्दी खोला जलविद्युत आयोजना र एनइएसडिओ समृद्ध लघुवित्तको १ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ८४ लाख कित्ता शेयर जारी गर्ने सबै काम सकिएका छ । तर नेतृत्व नहुँदा बोर्डले निर्णय गर्न सकेको छैन ।
त्यसैगरी बोर्डले डिस मिडिया, अपर सोलु, अपर हेवाखोला, रिभर फल्स जलविद्युत् आयोजना, जाल्पा सामुदायिक, उपकार, राष्ट्र उत्थान लघुवित्त र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो चरणको कागजात अध्ययन सकेको छ । यी ८ कम्पनी १ अर्ब ८७ करोड बराबरको १ करोड ८७ लाख कित्ता शेयर जारी गर्ने तयारीमा छन् ।
त्यसैगरी अन्य १० कम्पनीको २ अर्ब ८८ करोड रुपैयाँ बराबरको २ करोड २१ लाख कित्ता शेयरका बारेमा भने बोर्डले अध्ययन गरिरहेको छ ।