Kath Khabar
नेपाल मेडिकल कलेजद्वारा ओपिडी र इमर्जेन्सीमा निःशुल्क भर्नाको घोषणा

काठमाडौं, पुस १२ । नेपाल मेडिकल कलेजले एक महिनासम्म विभिन्न सेवाहरूमा शतप्रतिशत छुट दिने भएको छ । जोरपाटी अत्तरखेल स्थित कलेजले स्वास्थ्य सेवा तर्फ उपचारार्थ आउने बिरामीहरूलाई एक महिनासम्म छुट दिने घोषणा गरेको हो ।

कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्दिन अन्सारीले गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका बिरामीलाई लक्षित गर्दै सवै प्रकारका जनरल बेडहरू निःशुल्क गरिएको बताउनुभयो । कलेजले पुस १५ गतेदेखि माघ १५ गतेसम्म इमर्जेन्सी, ओपिडी र जनरल बेडहरूमा भर्ना शुल्क शतप्रतिशत छुट गरेको हो । कलेजमा अब कुनैपनि उपचारका लागि आउने बिरामीले एक महिनासम्म ओपिडीको टिकटमा पैसा तिर्नु पर्दैन भने जनरल बेडहरूमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ ।  

‘इमर्जेन्सीमा आउने सम्पूर्ण बिरामीहरूलाई बिरामी दर्ता र भर्ना शुल्क शतप्रतिशत छुट गरेका छौं, ओपिडीमा पनि नयाँ र पुरानो दुवै बिरामीको नाम दर्तामा शतप्रतिशत छुट छ भने, साधारण शैयामा भर्ना हुन आउने बिरामीलाई पनि शैया शुल्कमा ५० प्रतिशत छुट गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर अन्सारीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

६ महिना अगाडि मात्रै नेपाल मेडिकल कलेजमा आएका अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिक लगायत विभिन्न कारणले स्वास्थ्योपचार पाउन नसकेकालाई यो छुट दिइएको जनाउनुभयो । ‘हामीसँग तल्लो, मध्यम तथा उच्च बर्गहरू उपचारका लागि आउने गरेका छन । आर्थिक रुपमा बलियो भएकाहरूले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरूलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं ।’ अन्सारीले भन्नुभयो ।

अन्सारीले नेपाल मेडिकल कलेजमा प्रवेश गरेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लानु भएको छ । समय सापेक्ष अस्पतालको सेवा विस्तार गर्ने कार्य भइरहेको बताउनुहुँदै कलेजले आउँदा दिनहरूमा आइसीयु सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । यसका लागि थप २३ वटा आइसीयु बेड थप गर्ने भएको छ ।

यस्तै, मृगौला, क्यान्सर रोग लागेका बिरामीको उपचारमा समेत नेपाल मेडिकल कलेजले सेवाहरू प्रभावकारी बनाउँदै लैजाने बताएको छ । आगामी वर्षहरूमा मुटु रोगको उपचारार्थ आधुनिक क्याथ ल्याव सहितको पूर्वाधार थप्ने भएको छ । कलेजले इमर्जेन्सी सेवालाई थप व्यवस्थित र २४ सै घण्टा विशेषज्ञ सहितको चिकित्सक व्यवस्थापन गरेको छ । इमरजेन्सीमा आउने कुनैपनि बिरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन गरिएको हो । लामो समय टिचिङ अस्पतालमा रहेर अनुभव हासिल गरेका बरिष्ठ चिकित्सकको नेतृत्वमा इमर्जेन्सी सेवा रहेको बताइएको छ ।

यसैगरी कलेजले ल्याव तर्फका सेवालाई पनि थप गर्ने भएको छ । निकट भविष्यमै अस्पतालको ल्याव तर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने भनिएको छ । ‘अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्ने छौं ।’ नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताउँदै अन्सारीले भन्नुभयो । कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरूलाई पनि छुट दिने भएको छ । सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्र वाहक सञ्चारकर्मीहरूलाई ल्याव, बेड चार्ज तथा विभिन्न उपचार सेवाहरूमा छुट गरिने छ ।


 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update