Kath Khabar
गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान सुरु, व्यावसायिक उडान भने बुद्ध पूर्णिमादेखि

काठमाडौं, फागुन ६। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) आजबाट शुरु भएको छ । उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ। उक्त उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा बढी उडान गरेर  परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेसन फ्लाइटका क्रममा विहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पुर्ण रुपमा ठप्प हुने कर्णले जानकारी दिनुभयो ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ ।

कोभिड-१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो ।

देशकै नमूना आयोजना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update