Kath khabar
पहिलो दिन नै नेप्से सकारात्मक, सूचक तथा कारोबार रकम दुबै बढे



                काठमाडौं, भदौ १९ । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से सकारात्मक देखिएको छ । नेप्से आज छ दशमलव ६८ अंकले बढेर १९ सय ७७ दशमलव ३० अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ५७ अंकले बढेर तीन सय ८३ दशमलव ७७ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको २५ हजार ३७ पटकको कारोबारमा २८ लाख ७६ हजार दुई सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब सात करोड १६ लाख १५ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा ट्रेडिङ, लघुवित्त र लगानी सहितका नौं वटा समुहहरूको सूचक बढेका छन् भने होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष सहितका चार वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रुरु जलविद्युत परियोजना, स्वेत गंगा हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, जाल्पा लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था, गणपति माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रो पावर कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, जाल्पा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

असोज देखि पाँच दिन मात्र शेयर कारोबार
यसैबीच नेप्सेले असोज देखि सातामा पाँच कार्य दिन मात्र नेप्से खुल्ला हुने जानकारी दिएको छ । यसअघि शुक्रबार समेत गरी सातामा छ कार्य दिन नियमितरुपमा शेयर कारोबार हुने गरेकोमा असोज देखि भने शुक्रबारको शेयर कारोबार बन्द हुने छ । आज आइतबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले असोज देखि सातामा पाँच कार्य दिन मात्र कारोबार खुल्ला गर्ने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।
 


 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update