Kath khabar
खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड



            काठमाडौं, भदौ २०। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । आज सोमबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँड भएको हो ।

संस्थाको प्राथमिक शेयरको निष्कासनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्द भएका ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनहरु मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक भई भाद्र ०८ देखि भाद्र १२ गते सम्म सार्वजनिक रुपमा निष्कासन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर निष्कासनमा निष्कासन गरिएको कूल शेयर १ लाख ३२ हजार कित्ता मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याइ बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएकोमा निष्कासनको करिब १६८.६४ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

हाल संस्थापक तर्फ लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।
 

 

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update