Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो



           काठमाडौं, भदौ २६ । साताको पहिलो दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुबै घटेको छ । नेप्से आज ११ दशमलव ४७ अंकले घटेर १९ सय २६ दशमलव २८ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव छ अंकले घटेर तीन सय ७४ दशमलव ७८ अंंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको २० हजार एक सय २४ पटकको कारोबारमा २५ लाख २४ हजार दुई सय २४ कित्ता खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ७४ करोड ७२ लाख २६ हजार छ सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये अन्य समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड इर्दी मर्दी हाइड्रो पावर कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स, नबिल बैंक, अपी पावर लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी आदिको भने बढी रकम कारोबार भएका छन् ।


 

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update