Kath khabar
गलकोट नगरपालिकाको आफ्नै पाठ्यक्रम छ तर पुस्तक छैन

 

                                 बाग्लुङ, माघ ८ ।   स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको गलकोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो । पाठ्यक्रममा विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरियो । ‘हाम्रो गलकोट’ नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरूले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराएका छन् । विद्यार्थीहरू पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक नपाउँदा के पढेर कस्तो परीक्षा दिने भन्ने अन्योलमा छन् ।

शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको छ । ‘आफ्नै गाउँठाउँबारे स्कुलमा पढ्न पाउँछौँ भन्ने कुराले हामी उत्साहित थियौँ,’ गलकोट नगरपालिका - १० पाण्डवखानी माविमा अध्ययनरत करुणा सुनारले भनिन्, ‘तर, समयमा पुस्तक पाएका छैनौँ । हाम्रो उत्साह मर्दै गएको छ । सरहरू आउँछ-आउँछ भन्नुहुन्छ । नगरपालिकाले नै पुस्तक छाप्न बाँकी छ रे।’

कक्षा ८ मा अध्ययरनरत उनले आफ्ना घरवरिपरिका विषयवस्तुमा जानकारी भए पनि पुस्तक नहुँदा अन्य वडामा रहेका विषयवस्तुबारे बुझ्न कठिनाइ भएको बताइन् । शिक्षकले पढाएको आधारमा मात्र कसरी परीक्षामा राम्रो अंक ल्याउन सकिन्छ भन्ने चिन्ताले सताएको उनले गुनासो गरिन् ।

स्थानीय पाठ्यक्रम लागू गर्ने भनिए पनि नगरपालिकाले समयमा पाठ्यपुस्तक छाप्न नसक्नु ठूलो कमजोरी भएको गलकोट नगरपालिका - १ दुदिलाभाटीमा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण चोखाल बताउँछन् । उनले नगरपालिकाले त्रुटि सच्याउन बाँकी रहेको र छाप्ने तयारी रहेको भने पनि अहिलेसम्म विद्यालयमा पुस्तक नआएको बताए ।

‘नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भनेर निर्णय त गर्‍यो, कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ,’ चोखालले भने, ‘विद्यालयमा पाठ्यक्रम छ । शिक्षकहरूले सोही अनुसार सिकाउनु भएको छ, तर विद्यार्थीको हातमा पुस्तक छैन । पुस्तकविनाको पढाइ कसरी प्रभावकारी होला र रु’ सबै विद्यालयमा शिक्षकहरूले पाठ्यपुस्तक विनानै कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

पुस्तक छाप्न १५ लाख रुपैयाँ विनियोजन :

स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय अघिल्लो वर्ष नै भए तापनि पाठ्यपुस्तक छाप्न ढिलाइ भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । शिक्षा शाखाले समयमै त्रुटि सच्याउन नसक्दा ढिला भएको उनको दाबी छ । ‘स्थानीय पाठ्यक्रम लागू गर्ने अघिल्लो वर्षकै निर्णय हो । पाठ्यक्रम तयार भएको छ,’ गैरेले भने, ‘पुस्तक छाप्नका लागि शिक्षा शाखाले चालू अर्थिक वर्षको सुरुमा बजेट कति लाग्ने यकिन गरेन । अहिले हिउँदे अधिवेशनबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । अब छपाइको काम अगाडी बढाउँछौँ ।’

शिक्षा शाखाबाट कार्यपालिकामा समयमा जानकारी नहुँदा ढिला भएको उनको भनाइ छ । उनले आगामी शैक्षिक सत्रमा भने विद्यार्थीको हातमा पुस्तक पुग्नेमा विश्वस्त रहेको बताए ।

नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा पुस्तक छाप्नका लागि केही त्रुटि रहेका र त्यसलाई अन्तिम रूप दिन समय लागेकाले समयमा पुस्तक पुर्‍याउन नसकिएको बताउँछन् । ‘नगरपालिकाले पुस्तक छाप्ने प्रक्रियामा रहेको छ । शैक्षिक सत्रमा विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन गाह्रो होला,’ सापकोटाले भने ।

शिक्षकले पाठ्यक्रम हेरेर पढाउने र विद्यार्थीलाई नोट लेखाइदिने हो भने पाठ्यपुस्तक नभए पनि फरक नपर्ने सापकोटाको तर्क छ । ‘पाठ्यक्रममा सबै कुरा हुन्छ । शिक्षकलाई पाठ्यपुस्तक चाहिने होइन, विद्यार्थीलाई हो । उहाँहरूले पाठ्यक्रम हेरेर राम्रोसँग पढाउने हो भने किताब नै चाहिँदैन । यो कुरा शिक्षकहरुले नै बुझ्दैनन्,’ उनले भने । गलकोटमा ६८ वटा सामुदायिक विद्यालय र ४३ वटा बाल विकास रहेका छन् ।

४ स्थानीय तहमा आफ्नै पाठ्यक्रम कार्यान्वयन :

जिल्लाका १० स्थानीय तहमध्ये हाल गलकोटसँगै ४ स्थानीय तहमा आफ्नै पाठ्यक्रम लागू गरिएको छ । तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्ला वर्षदेखि नै आफ्नै पाठ्यक्रम अनुसार पढाएका शिक्षा विकास तथा समन्वय इकाइ बाग्लुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बाग्लुङ नगरपालिकाले पनि आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ भने बडिगाड गाउँपालिकाले पनि तयारी थालेको छ । त्यसबाहेक अन्य स्थानीय तहले भने हालसम्म कुनै तयारी थालेका छैनन् ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update