Kath khabar
देशको कुल निर्यात व्यापारमा ३२ प्रतिशतले कमी

 

                काठमाडौं, माघ २३ । नेपालको कुल निर्यात व्यापारमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२ प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६७ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१ दशमलव एक प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव चार प्रतिशत, २४ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९ दशमलव दुई प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव नौं प्रतिशत रहेको थियो । ज्ञद्द। समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १० अर्ब ९१ करोड बराबरको भएको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ३१ अर्ब २७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४६ अर्ब २३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय १६ दशमलव नौं प्रतिशतले वृद्धि भई २८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२ अर्ब ९४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५८ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५१ अर्ब ४५ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्फका व्यय ३५ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३२ अर्ब ४५ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको थियो ।


 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update