Kath khabar
पोखरामा २३ वर्षपछि पुनः सुरु भएको बाघजात्रा सकियो

 

                     कास्की, भदौ २१ । पोखरामा २३ वर्षपछि पुनः सुरु भएको ऐतिहासिक बाघजात्रा बुधबार सकिएको छ ।

विभिन्न कारणवश २०५७ सालदेखि रोकिएको यो जात्रा पोखराको बाघजात्रा आयोजक समितिले सुरुआत गरेको थियो । त्यसपछि पोखरामा पुन: जात्रा देखाइएको बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताउनुभयो ।

तीन दिनसम्म मौसमले साथ दिएकाले भव्यरूपमा सम्पन्न भएको उहाँले सुनाउनुभयो । “सबैभन्दा पहिला त भगवानलाई धेरै धेरै धन्यवाद छ । यो तीन दिनमा मौसमले राम्रो साथ दियो,” समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “२३ वर्षपछि भएको जात्रालाई अब निरन्तरता दिनका लागि पाँच/छ वर्षमा आयोजना गर्छौं ।”

उहाँका अनुसार पहिलो दिन भदौ १८ गते नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो । दोस्रो दिन १९ गते नेवा छे हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवा: छे पुगेर सकिएको थियो । अन्तिम दिन २० गते मुख्य समापन समारोहका लागि नेवा: छेबाट भीमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेको उहाँले बताउनुभयो ।

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए । पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् ।

तेइस वर्षपछि भएको बाघजात्रा भव्य सफल भए पनि केही कमजोरी र चुनौती रहेको आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिनुभयो । “कार्यक्रम भव्यरूपमा सम्पन्न भयो तर केही कमजोरी र चुनौती अवश्य रहे,” उहाँले भन्नुभयो, “२३ वर्षअघि जति उपस्थिति थियो त्यति हुन सकेन । यसमा पोखरामा रहेका कतिपय सङ्घसंस्थाहरूमा पत्र नपुगेको भन्ने आयो । आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।”

जात्रामा मुस्ताङी समुदाय, मगर समुदायले साथ दिएको उहाँले बताउनुभयो । यसबाहेक भक्तपुरको घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरू प्रदर्शन गरेको उहाँले बताउनुभयो । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिएको जात्रा अन्त्य भएको सचिव उलकले बताउनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update