
काठमाडौं, जेठ २८ । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो ।
पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । डच टोलीमाथि नेपालको यो दोस्रो जित हो । नेपालले प्रस्तुत गरेको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २२० रन मात्र जोड्न सक्यो ।
नेपालका लागि ओडीआइमा डेब्यु खेल खेलेका नन्दनले ३ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
नेदरल्याण्ड्सका वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । दोस्रो विकेटका लागि बारेसी र माइकल लेभिटले ५० बलमा ४१ रनको साझेदारी गरे ।
जित पछि नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।