Kath Khabar
ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

                       काठमाडौं, असोज ३० । नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ ।

उपाधिका लागि महत्वपूर्ण र निर्णायक मानिएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ओमानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

खराब सुरूवात गरेको ओमानले २७ रन जोड्दा ३ विकेट गुमायो। ओपनर तथा कप्तान जतिन्द्र सिंह १४ रन जोडेर सोमपाल कामीको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि गुल्सन झाले ३ विकेट लिंदा सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।

ओपनर कुशल भुर्तेलको शानदार अर्धशतक पछि, नेपालका बलरहरूले प्रतियोगितामा लगातार चौथो जित हासिल गर्न सटीकता र अनुशासनको सामूहिक प्रदर्शन गरे ।

सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ । अब नेपालले शुक्रबार आफ्नो अन्तिम खेलमा समाओलाई पराजित गरेमा च्याम्पियन बन्नेछ ।
 

 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update