
काठमाडौं, असोज ३१ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दैछ । ओमानको अल अमेरत क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ ।
यो नेपालले जारी प्रतियोगितामा खेलिरहेको अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । दुई खेल अगावै विश्वकपमा छनोट भएको नेपालले आज सामोआलाई पराजित गरेमा आईसीसी पुरुष टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्रशान्त प्रतियोगिताको उपाधि जित्नेछ । सामोआ पहिले नै विश्वकप छनोटबाट बाहिरिसकेको छ । २०२६ काे फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा विश्वकप आयोजना हुदैछ ।
नेपालले समूह चरणका खेलहरूमा जापान र कतारलाई हराएर सुपर सिक्समा प्रवेश गरेको थियो र सुपर सिक्सका सबै खेलहरू जितेको थियो । नेपालले आजको उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् ।