Kath Khabar
अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई फोन गरे पश्चातको शेयर बजार

काठमाडौ, भदौ २१ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आज अर्थात सोमबार एक बिहानै फोन गर्नुभयो । फोन गर्नुको प्रमुख कारण थियो दिन दिनै घटिरहेको शेयर बजार । फोनमा अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई शेयर बजार सुधारको लागि काम गर्न निर्देशन दिनुभएको थियो । गर्भनर अधिकारीले पनि शेयर बजार सुधारको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोही घटनाक्रम अर्थात अर्थमन्त्री शर्माको फोनको प्रभाव आज नेप्सेमा देखिएको छ । अघिल्लो दिन एक सय आठ अंकले घटेको नेप्से सोही फोन संगै एक सय ६१ दशमलव ९४ अंकले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ अंकमा पुग्न सफल भएको छ । सेन्सिटिभ पनि आज ३१ दशमलव ४१ अंकले बढेर पाँच सय ५३ दशमलव ४० अंकमा पुुग्न सफल भएको छ ।

आज दुई सय २४ वटा कम्पनीहरुको एक लाख नौ हजार एक सय ८२ पटकको कारोवारमा एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोेवार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज लुम्बिनी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, सेन्ट्रल फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, आईसीएफसी फाईनान्सको ऋणपत्र, सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था आदिको शेयर मुल्य भने घटेकाछन् ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोवार भएकाछन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update