
काठमाडौं, कात्तिक २२ । तिहारको बिदापछि आज पहिलो दिन खुलेको नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से १९ दशमलव दुई अंकले घटेर २८ सय २९ दशमलव ६४ अंकमा सीमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ३० वटा कम्पनीहरूको ४९ हजार पाँच सय ३० पटक शेयर किनबेच भएकाछन् । जसबाट आज ७२ लाख सात हजार तीन सय ९६ कित्ता शेयर किनबेच हुँदा कुल शेयर कारोबार रकम चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन रुपैयाँ पुग्न सफल भएको छ ।
आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लघुवित्त सहितका १० वटा समुहको सूचक घटेकाछन् भने फाइनान्स, सामूहिक लगानी कोष र लगानी सहितका तीन वटा समुहको सूचक बढेकाछन् ।
कारोबार भएका कम्पनीहरु मध्ये आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा साहस ऊर्जा लिमिटेड, तेह्रथुम पावर कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था, आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, कालिका पावर कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज महालक्ष्मी विकास बैंक, नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी परेकाछन् ।