
काठमाडौं, कात्तिक २९। नेप्से उच्च अंकले बढ्दा लगानीकर्ताहरु उत्साहित भएकाछन् । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से २६ दशमलव ४४ अंकले बढेर २७ सय १५ दशमलव ३५ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव १० अंकले बढेर पाँच सय छ दशमलव ५४ अंकमा पुग्न सफल भएको छ । लगातार घट्दै आएको नेप्से आज उच्च अंकले बढेपछि लगानीकर्ताहरु उत्साहित भएकाछन् ।
नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको ५९ हजार तीन सय १६ पटकको कारोबारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा कुल शेयर कारोबार रकम आज चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बोटलर्स नेपाल तराई लिमिटेड, तेह्थुम पावर लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, आदिको शेयर मुल्य बढेकाछन् भने महालक्ष्मी विकास बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने महालक्ष्मी विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, आईसीएफसी फाइनान्स आदि परेकाछन् ।