Kath Khabar
नेप्सेमा ३२ अंकले गिरावट, सबै सूचकहरु रातै

काठमाडौ, मंसिर २। अघिल्लो दिन बढेको नेप्सेमा आज बिहीबार भने गिरावट आएको छ । नेप्से आज ३२ दशमलव ३९ अंकले घटेर २७ सय ६९ दशमलव १३ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४३ अंकले घटेर पाँच सय २२ अंकमा सीमित हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको ७० हजार ३७ पटक शेयर किनबेच भएकाछन् । जसबाट ९८ लाख ६२ हजार नौ सय ४० कित्ता शेयर खरिद बिक्री भएको छ भने कुल शेयर कारोबार रकम छ अर्ब २७ करोड १८ लाख ६७ हजार दुई सय ३० रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मानुषी लघुवित्त वित्तीय संस्था, तेह्थुम पावर लिमिटेड, नेशनल माईक्रो फाइनान्स आदिको शेयर मूल्य बढेकाछन् भने मैलुङखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी विकास बैंक, अपर तामाकोसी हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेकाछन् ।  

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update