Kath Khabar
नेप्से लगातार ओरालो यात्रामा, लगानीकर्ताहरू निराश, सबै सूचक रातै
 



काठमाडौं, मंसिर २२। नेप्से लगातार ओरालो लाग्दा लगानीकर्ताहरू निराश भएकाछन् । अघिल्लो दिन ३७ अंकले घटेको नेप्से आज बुधबार पनि ५३ दशमलव एक अंकले घटेर २४ सय ५५ दशमलव ८० अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि नौ दशमलव ३४ अंकले घटेर चार सय ६४ दशमलव ७९ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरूको ४२ हजार नौ सय ४६ पटकको कारोबारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँमा सीमित भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै सूचक घट्दा नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज स्टान्डर्ड चार्टड बैंक, नेपाल एसबिआई बैंक आदिको शेयर मूल्य बढेकाछन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।


 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update