
काठमाडौँ, पुस ७। शेयर बजार परिसुचक (नेप्से) आज बुधबार पनि हरियाली देखिएको छ । आज नेप्से ९२ दशमलव १६ अंकले बढेर २५ सय सात दशमलव ७० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १४ दशमलव ७४ अंकले बढेर चार सय ७७ दशमलव २६ अंकमा पुग्न सफल भएको छ । दुई सय ३३ वटा कम्पनीहरुको ५५ हजार नौ सय ९७ पटकको कारोबारमा ८१ लाख चार हजार तीन सय १९ कित्ता शेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा शेयर खरिद बिक्री हुँदा आज कारोबार रकम चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्से आज पुरै हरियो भएको छ ।
कारोबार भएका कम्पनीहरू मध्ये अरुण भ्याली हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, सबैको लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाईनान्स, सानिमा लार्ज क्याप फण्ड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज हिमालयन डिस्ट्रिलरी प्रालि, गोर्खाज फाइनान्स, नबिल बैंक आदि परेकाछन् ।