Kath khabar
हिरण्य महाविहारमा बालपूजारी राख्ने अनौठो प्रचलन

ललितपुर, माघ २३। हिरण्यवर्ण महाविहार, पाटन दरबार स्क्वायरको उत्तरमा अवस्थित एक अद्वितीय तथा स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो । तिनतल्ले हिरण्यवर्ण महाविहारको निर्माण राजा भाष्करदेव बर्माले १२औं शताब्दीमा स्थापना गर्नु भएको थियो ।

स्वर्ण जडित विहार भएकोले अङ्ग्रेजीमा गोल्डेन टेम्पल (Golden Temple) र नेपाल भाषामा यसलाई क्वाःबहाः भनिन्छ । नेपालकै सबै बौद्ध विहारमध्ये सुन्दर मानिने गोल्डेन टेम्पल अर्थात हिरण्यवर्ण महाविहार त्यस क्षेत्रको आकर्षण नै हो ।

हिरण्यवर्ण महाविर पुरातन तथा धनी बिहारको रुपमा चिनिन्छ । यो मन्दिर भित्रको बुद्धलाई क्वाबाजु भनिने गरिएको पौराणिक ग्रन्थहरुमा पनि लेखिएको छ । यहाँ हजारौं पर्यटकहरु घुम्नको लागि आउने गर्दछन् । यहाँको शान्त वातावरण र छुट्टै धार्मिक रीतिरिवाजको बारेमा जान्न पनि पर्यटकहरू उत्तिकै उत्सुक रहेको देखिन्छन् । यहाँ अरु ठाउँ भन्दा छुट्टै धार्मिक परम्परा रहेको छ । यस ठाउँलाई मुसाको किल्लाको रुपमा पनि चिनिने गरिन्छ । पहिले यस ठाउँमा एउटा मुसा थियो । त्यस मुसाको आँखामा दुईवटा हिरा भएको हुनाले पनि हिरण्यवर्ण विहार नाम रहन गएको हो । यस विहारमा ५,००० भन्दा बढि सदस्यहरू रहेका छन् ।  

मन्दिर छिर्नेबित्तिकै पश्चिमतिर फर्किएको दिग्ध्यो चैत्य हेर्न सकिन्छ। जहाँ चैत्य राखेको ठाँउमा चाहि नागले घेरिएको छ । त्यसको दायाँतर्फ हामीहरूले गुम्बा देख्न सक्छौं जहाँ एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी बस्ने गर्दछन् । जुन पूजारीलाई स्थानीय भाषामा बाफाचा भन्ने गरिन्छ ।

बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन्छन् । शाक्य र बज्राचार्य समुदायबाट बाफाचाहरु छानिन्छन् । तर बाफाचा बन्नका लागि ५ देखि १२ वर्ष उमेर भएको हुनुपर्दछ । खासमा ठूलो बाफाचाको काम सानो बाफाचालाई सहयोग गर्ने हो । अधिकांश पूजा सानो बाफाचाले नै गर्नुपर्ने हुन्छ । सानो बाफाचाले यो मन्दिरमा बिहानदेखि साँझसम्म चारपटक धर्मकन्थ बजाउँछन् । धर्मकन्थ काठको बाजा हो, जसले यो विहारका सदस्यहरुलाई विभिन्न समयबारे जानकारी दिन्छ ।

बाफाचा राख्नु अगाडी महाविहारले पालो आउन लाग्यो भनेर चिठी पठाउँछन् र विद्यालयले पनि महिनादिनसम्म बिदा दिने गर्दछ । बालपूजारी हुन पाउँनु पनि भाग्यमानी मानिन्छ। सानो उमेर, चञ्चले स्वभाव हुने भएकोले बाफाचालाई मायाले राखिन्छ । साना पूजारीहरुको रेखदेख ठूला बाफाचाहरुले गर्ने गर्दछन् । भनिन्छ यहाँ बाल पूजारी रिसाएको पनि राम्रो मानिदैंन । पूजारीलाई कुकुरले पनि छुनु हुँदैन । पूजाको विधिमा पनि सानोतिनो कुराहरु छुट्यो भने पुनः दोहोर्याएर विधि पुर्याएर पूजा गर्नुपर्ने हुन्छ र चोखो पानीले फेरी नुहाउनु पर्दछ । त्यसैले पूजा गर्दा सर्तकता अपनाएर गर्नुपर्ने हुन्छ ।

बालक बाफाचा बिहान ५ बजे चोखो पानी इनारमा लिन जाने र नुहाएर मन्दिरमा पूजाको लागि जाने गर्दछन् । मन्दिरमा छिर्नुपूर्व पहिला तीनवटा मण्डला हुन्छ त्यसलाई ढोगेर मात्र भित्र छिर्नुपर्नेहुन्छ । ठूलो पूजारी चाहि मन्दिर सफा गर्ने गर्दछन् । बाफाचाले दिनमा तीनपटक पूजा गर्ने गर्दछन् । दिनमा १ छाक खाना खाने गर्दछन् । यो एक महिना बाफाचाले नुन खान पाउँदैनन् । र खानामा चिल्लो, पिरो र मसाला भएको खाना पनि खानुहुँदैन । घर र स्कुल सबै त्यागेर महिना दिनसम्म मन्दिर परिसर मै बस्नुपर्नेहुन्छ ।

साँझको समयमा बाल पूजारीले महाविहार एक चक्कर लगाउँछन् । बालपूजारी फर्केर नआउँदै उनको भान्सेले साँझको दियो बालिसक्नुपर्ने हुन्छ । बालपूजारी फर्किसकेपछि महाबिहारको मूल ढोका भोलिपल्ट बिहानसम्मको लागि बन्द गरिन्छ । साँझ ६ बजेतिर घण्टी बजाएर मूल ढोकाबाट बाहिर जाने र एक चक्कर लगाएर फेरी मूल ढोकामै आए लगत्तै ढोका बन्द गरिन्छ । र भोलिपल्ट बिहान ४ बजेमात्रै ढोका खोलिन्छ । कुमारी पूजाभन्दा भिन्दै छ बालपूजारीको प्रथा । महिनैपिच्छे बाल पूजारी फेरीन्छ । महिना दिनपछि पुजारीको जिवन फेरी पहिलाको जस्तै शुरु हुन्छ ।


 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update