Kath Khabar
मूल्यवृद्धिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

 

      काठमाडौं, जेठ २० ।  प्रतिनिधि सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउन समेत समस्या भएको बताउनुभयो ।  

सांसद पुष्पा भुसालले आयातित वस्तुलाई न्यून गर्दै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । सांसद डिला सङ्ग्रौलाले दैनिक उपभोग्य वस्तुको दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिका बारेमा सरकारको ध्यानार्कषण गराउनुभयो । सांसद लालबाबु पण्डितले सरकारले बजार अनुगमन नगरेको र बजार अनुगमन नहुँदा जनता मारमा परेको बताउनुभयो ।  सांसद नारायणप्रसाद खतिवडाले सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद शेरबहादुर तामाङले भन्नुभयो, “खाने तेलको मूल्यवृद्धि घटाएको खण्डमा मात्रै समग्र मूल्यवृद्धिका बारेमा छलफल गर्न सकिन्छ ।” 

सांसद समिना हुसेनले मूल्यवृद्धि हुनुको कारण पत्ता लगाइ मूल्यवृद्धि कम गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रका प्रमुख परिसूचक प्रति सरकारले यथेष्ट ध्यान पुर्‍याउन नसक्दा जनताको जनजीविका सँग जोडिएका खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको भन्दै नेकपा (एमाले) का सचेतक विशाल भट्टराईलेले आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तावमा भनिएको छ, “जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चितता गर्न तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।” 

सरकारले मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका जनताको जीवनसँग जोडिएका बस्तुको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत बढाएको सचेतक भट्टराईको भनाइ थियो । सो प्रस्तावलाई सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी र राजेन्द्र लिङ्देलले समर्थन गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update