
काठमाडौं, साउन १३ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरु बीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड-१९ विरुद्धको खोप लगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार साँझ नेपाल आउनु भएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नु भएको छ । यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्व सँग नेपाल-अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयाम लगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ । सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।