Kath khabar
धर्मग्रन्थ र शास्त्र अनुसार दिशाको महत्व र यसको सम्बन्ध
डा./ई. दुर्गा बहादुर श्रेष्ठ



          काठमाडौं, साउन १५ । विशेष गरी हामी चारवटा दिशाको सामान्यतया पहिचान गर्न सक्छौ । तर त्यस चार दिशाभित्र पनि अनेक स-साना दिशाहरूको अति महत्व हुन्छ । त्यस दिशालाई वास्तुशास्त्र वा वास्तुकलामा समावेश गर्नु उत्तम हुन्छ । सामान्यत: सूर्य उदाउने दिशालाई पूर्व दिशा  भन्दछौं ।  हामी पूर्व अनुहार पारेर फर्क्यौ भने बाँया तर्फको भागलाई उत्तर र दायाँतर्फको भागलाई दक्षिण भनिन्छ । पछाडिको भागलाई पश्चिम भनिन्छ । दुबैदिशा भेट्ने बिन्दुलाई कोण भन्दछौ । यो (बिन्दु वा कोण) जहिले पनि ९० डिग्री हुन्छ । दुबैदिशा भेट हुने कोण बढी महत्वपूर्ण हुन्छन् । किनभने त्यसले दुबै दिशाबाट आउने ऊर्जा शक्तिलाई मिलाउँछ। यस्तै उत्तरपूर्वको कोणलाई ईशान भनिन्छ, दक्षिणपश्चिमको कोणलाई नैऋृत्य र उत्तरपश्चिमको कोणलाई वायब्य भनिन्छ । वास्तुशास्त्रमा यी उपयुक्त कोणहरूको आ-आफ्नो महत्व छन् ।

दिशाहरूको क्षेत्र निर्धारण
१. पूर्व दिशा- यस दिशामा कुनै रोकावट हुनु हुदैन किनभने यो नर शिशुहरूको स्रोत मानिन्छ र पितृस्थान पनि हो ।
२. दक्षिण दिशा-  यो दिशा सुख, सम्पन्नता र बालीनालीको स्रोत मानिन्छ ।
३. पश्चिम दिशा - यो दिशा नाम, यश र सम्पन्नताको स्रोत मानिन्छ ।
४. उत्तर दिशा - यस दिशामा पनि कुनै रोकावट आउनु हुँदैन र यसलाई कन्याशिशुहरूको स्रोत मानिन्छ साथै मातृस्थान पनि हो ।
५. दक्षिण पूर्व (अग्नेय कोण) - यस दिशालाई स्वास्थ्यको स्रोत मानिन्छ । विशेष यो दिशा खाना पकाउने दिशा भनी जान्नुपर्दछ ।
६. दक्षिणपश्चिम (नैऋृत्य कोण) -  यस दिशालाई व्यवहार र चरित्रको स्रोत तथा दिर्घ जीवन र मृत्युको कारण मानिन्छ ।
७. उत्तरपश्चिम (वायव्य कोण) - यो दिशा व्यापार, मित्रता र शत्रुतामा परिवर्तनको स्रोत मानिन्छ ।
८. उत्तरपूर्व  (ईशान कोण) - यो दिशा नर-शिशुहरूको स्रोत मानिन्छ र स्वास्थ्य, संमृद्धि साथै सम्पन्नता, जलको स्रोत हो ।

आठ दिशाको व्यवहारिक प्रयोजन
१. पूर्व दिशा - भोजन गर्ने ठाउँ, इनार बनाउने काम फूलबारी बनाउन र ढोका राख्नुमा उत्तम मानिन्छ ।
२. अग्नेय - (दक्षिण-पूर्व)  खाना बनाउने भान्छा कोठा, विद्युतको सव-मिटर, सानो भण्डार आदि, इत्यादि राम्रो ।
३. दक्षिण -  सुत्ने कोठा, बगैचा शुभ ।
४. नैऋत्य (दक्षिण-पश्चिम) - सुत्ने ठाउँ, ठूलो भण्डार, ट्वाइलेट इत्यादि ।
५. पश्चिम दिशा - ट्वाइलेट, ओभरहेड वाटरट्याङ्क, ठूलो रूख हुनु राम्रो हो ।
६. वायब्य (उत्तर-पश्चिम दिशा) - सभाहल, खाना बनाउने भान्छा कोठा, मनोरञ्जनका वस्तु आदि राम्रो ।
७. उत्तर दिशा - ताल, तलाउ, इनार, कुवा पानीको अण्डरग्राउण्ड टैंकी आदि ।
८. ईशान (उत्तर-पूर्वदिशा) - पूजाकोठा, पूजा गर्ने सानो मन्दिर, पढ्ने ठाउँ, इनार, बच्चाको लागि सुत्ने कोठा ।

 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update