
काठमाडौं, साउन २२ । भारतबाट २-२ पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो ।
सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताउनुभयो । “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय”, ज्ञवालीले प्रश्न गर्नुुभयो । उहाँले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गर्नुभयो । उहाँले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लगाउनुभयो ।
उहाँले देशको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छानविन समितिले सम्पूर्ण अङ्ग पूरा गर्न नपाएको र त्यसको असर भोलि पनि अर्थमन्त्रालयमा पर्ने दाबी गर्नुभयो ।