
काठमाडौं, भदौ ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले महानगरपालिका अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनुभएको छ ।
हिजो विज्ञप्ती जारी गर्दै मेयर साहले भन्नुभएको छ, "राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।"
दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उहाँले अपिल गर्नुभएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड (ग)ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दलसँगको आबद्धता त्याग नगरे सार्वजनिक रुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानूनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने भन्दै उहाँले चेतावनीसमेत दिनुभएको छ ।