Kath Khabar
मतदात प्रभावित पार्ने बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह 

काठमाडौं, जेठ १३ । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरुले सरकारलाई बजेटमा मतदाता प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन् । बिहीबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई मतदात प्रभावित हुने बजेट नल्याउनको लागि आग्रह गरेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।’ विज्ञप्तिमा अघि भनिएको छ, ‘साथै यस विषयमा आफनो संवैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बघ पक्षलाई समय मै सजग गराउने छ भन्ने हामीले विश्वास लिएका छौं। ’ 

उनीहरुले यसबारे निर्वाचन आयोगले सम्बन्धित पक्षलाई समयमै सजग गराउन समेत आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुरुप हरेक आर्थिक वर्षको जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नु पर्ने हुदाँ वर्तमान सरकारले प्रतिनिधि सभा विघटनको अवस्थामा अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ । बजेट विज्ञहरुले तत्काल बजेट नल्याउन सरकारलाई आग्रह गरे पनि सरकार अध्यादेशबाट बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update