Kath Khabar
माओवादीबाट चुनावमा उठ्ने चर्चाबारे विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको जवाफ....

              काठमाडौं, भदौ १५ । आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना 'सेन्टिमेन्ट' समात्ने गरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे। त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमाडौंमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्।

देशमा लोडशेडिङ् हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय स्वास्थ्य दह्रो पारेको जस पाउने घिसिङ स्वयंको सोचाइ चाहिँ के छ ? कुलमान घिसिङ् यसो भन्छन्, "मैले चुनाव उठ्ने बारे केही निर्णय गरेको छैन," घिसिङले भन्नुभयो।"चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।"

दोस्रो ४ वर्षे कार्यकालका निम्ति घिसिङ १ वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त हुनुभएका थिए। अर्थात् उनको अझै ३ वर्षको कार्यकाल बाँकी नै छ। उँहालाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवं ऊर्जा मन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो।

माओवादीको इच्छा के हो त ?

यही साता एक सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन शाह निर्वाचित हुनुमा जनताको सेन्टिमेन्ट मुख्य कारण रहेको बताए।

"हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेका छौँ," उनले भने। "तपाईँहरूले सोच्दै नसोचेको नयाँ मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे जो कुनै गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन हामी सबैले साथ दिन सकिने‘ हो यो त ठिक छ भन्ने भयो भने काठमाडौंमा २र३ सीट हामीले सजिलै जित्न सक्छौँ," प्रचण्डले भनेका थिए।

यसअघिको चुनावमा काठमाडौंमा माओवादीले १ सिट पनि जितेको थिएन। उनले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवार ल्याउने सोच रहेको बताएका थिए।

तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफल वा निर्णय भने भई नसकेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताए।
"सबभन्दा पहिले त गठबन्धन भित्र सीट बाँडफाँट टुङ्गिनु पर्‍यो। त्यसपछि व्यक्तिबारे छलफल होला। शायद अध्यक्ष प्रचण्डले केही सोच्नुभएको भए पार्टीमा बताउनु होला," शर्माले भने।

गत स्थानीय चुनावमा काठमाडौंमा स्वतन्त्र उठेका शाहले मेयरमा चुनाव जितेपछि आसन्न संसदीय चुनावका निम्ति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्। कतिपय क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पार्टीहरूलाई चुनौती दिने ठानिएको बेला प्रचण्डको पछिल्लो टिप्पणी आएको हो।
 

साभार:बीबीसी

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update