Kath Khabar
अर्को बैठक १९ गते बस्ने गरि, २ वटा प्रश्नको जवाफपछि जबरासँगको दोस्रो दिनको बयान सकियो

              काठमाडौं, भदौ १६ ।  महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।

हिजो बुधवार ४ वटा प्रश्नको जवाफ दिएका राणाले आज बिहीवार २ वटा प्रश्नको जवाफ दिनुभएको छ । अब उहाँको बयान लिने क्रम १९ गतेसम्म स्थगित भएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो । उहाँलाई १९ गते आइतवार ११ बजे पुनः समितिमा बोलाइएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये ४ प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाउनुभएको थियो ।

७ महिना देखि निलम्बनको अवस्थामा रहेका उहाँमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले ३ महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो । 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update