Kath Khabar
राजेन्द्र लिङ्देनद्वारा राजिनामाको घोषणा

             

               काठमाडौं, भदौ १९ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ । 

आइतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो ।

‘व्यक्तिगत रूपमा म चाहिँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनुको नाताले आउँदो चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताको बीचमै जानका लागि बेसी समय खर्च गर्नुपर्छ । त्यस कारणले भत्ता पकाउनका लागि मात्रै संसद् आउन छोडेको पनि थिएँ ।

उहाँले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिनुभयो ।

संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रिया सुरु भएको हुँदा त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । संसद् पद त्यागेको यहीँबाट घोषणा गर्न चाहन्छु । सांसद् लिङ्देनले आउँदो चुनावपछि एक्लो सांसदको रूपमा मात्र नभए बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ नागरिकमाझ जाने बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update