
काठमाडौं, जेठ १४ । चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन साढे पाँच वर्षमा पनि अनिश्चितमै छ । आउँदो भदौ यसको विधानले होइन देशको संविधानले दिएको संकट कालको समय हो । त्यसमापनि अधिवेशन भएन भने यो दलको दर्ता खारेज हुन्छ । यसको आफ्नो विधान अनुसारको समयलाइ आधार मान्ने हो भने त त्यस्तो खारेजी भई नै सक्यो ।
देशको सबैभन्दा जेठो कांग्रेस नयाँ पुस्तामा र सामूहिक नेतृत्वमा रुपान्तरण भएको भनी धेरै प्रशंसित भएको थियो यसको १३ औ अधिवेशन सम्पन्न हुँदा । त्यो महाधिवेशनको मिति हो २०७२ फागुन २३-२८ । त्यो दिनबाट गणना हुँदा वितेका २०७७ फागुनमा ५ वर्ष पुरा भएर छैठौं वर्षको पनि चार भागको एक भाग वितिसकेको छ ।
यो दलको विधानमा यसको महाधिवेशनको समय चार वर्षको हो । कुनै अकाट्य भैपरी आएको खण्डमा अरु एक वर्ष म्याद थपिन सक्तछ । त्यो ‘कुनै अकाट्य भैपरी आएको खण्डमा अरु एक वर्ष म्याद थपिएको म्याद सकिएको पनि चार महिना भयो तर यसको महाधिवेशनको निश्चितता भएको छैन दिन तोकिनु बाहेक । गएको फागुनमा १४ महाधिवेन सम्पन्न हुने मिति भनी ०७८ भदौ ७-१०का लागि मिति तोकिएको थियो । तर दिन बित्दै जाँदा यो समयमा महाधिवेशन गर्ने चुनौतीको थुप्रो नै रहेको मान्छन् काँग्रेसीजनहरु ।
भर्खर एउटा सार्वजनिक कार्यक्रममा सभापति शेरबहादुर देउवाले महाधिवेशन नगराएको कलंकको टीका आफूले बोक्न नचाहेको बताउनुभयो । तर योसँगै कोरोना महामारीले महाधिवेशनका काम प्रभावित भएको पनि स्वीकार्नु भयो । उहाँको भनाइ थियो - महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ, कसरी गर्ने छलफल गरौं भनेकै छु, सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आफूहरू सर्वोच्च अदालत गएकाले पुर्नस्थापना नभएसम्म त्यसमा केन्द्रित हुनुपर्ने हुन्छ ।’
सभापति देउवाको यो भनाइ स्वाभाविक पनि होला । देशमा कोरोना बढेको छ, यता प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा पनि ध्यान दिनु छ । संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा कांग्रेसकै नेतृत्वमा गएको अवस्था सत्य हो । तर सत्य केहो भने महाधिवेशन गरेर आफनो वैधता जोगाउने काम त काँग्रेसको मात्रै हो ।
यो दलको स्वाभाविक र उसको वैधता वा विधान अनुसारको अधिवेशन हुने वर्ष हो २०७६ फागुन । यो वर्षको यो महिना देशमा कुनै भैपरी आएको थिएन । म्याद थपिएको ०७७ साल भने कोरोनाले गाज्न थालेको थियो नै तर आजको जस्तो थिएन । यी वर्षहरुमा महाधिवेशनका लागि गनुृपर्ने काममा ध्यान नदिएको भन्ने आरोप लागेको पाइन्छ नेतृत्व माथि । आउँदो भदौमा पनि हुन सकेन भने नचाहँदा नचाहँदै पनि नेतृत्वले त्यो कलंक बोक्नुपर्ने हुन्छ नै ।
कांग्रेसमा अतिबेला वास्तवमा नै यसको अस्तित्वको सवाल उठेको महशुस भएको हुनुपर्छ । त्यसैकारण १४ औं महाधिवेशनका विकल्पहरुतर्फ पनि ध्यान आकर्षित गर्न थालिएको पाइन्छ । त्यसमध्येका हुन अहिले टुंगो लागेका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्ने वा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने ।
नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा यसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव हो यो । उहाँका अनुसार ‘क्रियाशील सदस्यता सबैतिरबाट कम्प्लिट गरेर १४ औं महाधिवेशन गर्न सम्भव छैन, जति उपलब्ध छन्, तिनीहरुबाटै वडा गाउँपालिका, क्षेत्रबाट प्रतिनिधि छनोट गरौं, पूरा कार्यकालको केन्द्रीय समितिको निर्वाचन गर्न नसके पनि एक वर्षको लागि भए पनि चुनाव गर्न सक्ने विकल्प छ । त्यो बारेमा पार्टीमा छलफल गर्नुपर्छ ।’
११ पुस २०७६ मा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले एक वर्ष म्याद थपेको थियो त्यसबेला जसले, महाधिवेशनको मिति अर्को वर्ष २०७७ फागुन ७-१० लाई तोकेको थियो । यो समय तोक्दा त्यो मितिको महाधिवेशनका लागि कांग्रेससंग करिव १५ महिनाको समय थियो तर यो फागुन आइपुग्दा नपुग्दै पार्टीको समायोजन नै टुंग्याउन नसकिरहेका अवस्थामा महाधिवेशनको यो मिति टार्न कोरोना भाइरस सहयोगी भएको मानेका छन धेरैले ।
कोरोना महामारी र त्यसको रोकथामका लागि भएका लकडाउन वास्तवमान नै महाधिवेशनका क्रियाशील सदस्यता वितरण तथा नवीकरण नै ढिला सुरु हुन गयो । ०७६ को पुसमा मिति तोकिएको थियो तर त्यसको करिव आठ महिना पछि २०७७ साउनमा क्रियाशील सदस्यता फारम वितरण भयो ।
यसले यो मितिमा महाधिवशेन सम्पन्न नहुने भएपछि ५ फागुन २०७७ मा संविधानको धारा २६९ अनुसार ६ महिना म्याद थप्ने र भदौ ७-१० मा महाधिवेशन गर्ने निर्णय गरियो । यो भनेको थपिएको म्याद सकिन लागेका दुई दिन अघिको मात्र समय हो । यसले काँग्रेस यो बेलासम्म प्राविधिक रुपले मात्र जोगिएको बुझाउँछ ।
कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यको सूची तय भए पछि इन्ट्री उजुरी आह्वान गर्नुपर्छ । गएको ३० वैशाखमा ८० क्षेत्रका ४ लाख क्रियाशील सदस्यको सूची प्रकाशन गरेर उजुरी आह्वान भएको भन्ने रिपोर्ट जानकारीमा आएका छन् । यो महाधिवेशनमा सहभागी हुने यी कृयाशीलहरुको संख्या १० लाख हुने भन्ने थियो ।
पछिल्लो समय निर्धारण भएको अर्थात केन्द्रीय कार्यसमितिले पास गरेको महाधिवेशन कार्यतालिका अनुसार असार २० गते वडा, २२ गते गाउँ तथा नगर, २५ गते प्रदेशसभा क्षेत्र र २७ गते प्रतिनिधिसभा क्षेत्र र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्नुपर्छ । ८ साउनमा प्रदेश अधिवेशन र भदौ ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
यो दलको एउटा वडा तहमा करिव ४०० सम्म क्रियाशील सदस्यता हुने वताइन्छ । सभापति देउवाले यही संख्यालाई मध्यनजर गरेर हुनुपर्छ महामारीका बेलामा यस्तो चहलपहल कति जोखिमको हुन्छ त्यसको आँकलन हुन जरुरी रहेको तर्फ संकेत गर्नु भएको ।