Kath Khabar
महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक मनाइने

 

             काठमाडौं, भदौ २४ । संयुक्त अधिराज्य बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update