
काठमाडौं, भदौ ३१ । सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि चलिरहेको छ । बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।
१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न झन्डै ७ घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पानामा हस्ताक्षर गर्ने बताउनु भएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताउनुभयो । जबराले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि समिति सदस्य विश्वकर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जबराले हस्ताक्षर गर्न प्रभोक गरेको जस्तो लाग्यो । पहिला अन्तिम पानामा मात्रै हस्ताक्षर गर्छु भन्नुभयो तर अहिले हस्ताक्षर गर्न नमानेपछि सुरुदेखि अन्तिमसम्म पढेर सुनाउे काम भइरहेको छ ।’