
काठमाडौं, असोज २ । सर्वोच्च अदालत जाने तयारीमा रहनुभएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिनुभएको छ । उहाँले आज बिहान ११ बजे आफू सर्वोच्च जाने बताउनुभएको थियो । तर निवासको बाहिरसमेत प्रहरी तैनाथी बढाइएकाले आफू निस्कन नपाएको र सरकारले बल प्रयोग गरेर आफूलाई रोक्न खोजेको जबराको भनाइ छ ।
जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चासँगै उहाँको निवास बालुवाटार र सर्वोच्च अदालत परिसरमा बिहानैदेखि प्रहरीको उपस्थिति बढाइएको छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन लाग्नुभएको हो ।
नेपाल बार एसोसिएशनले उहाँलाई सर्वोच्चमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि उहाँ निलम्बनमा पर्नुभएको हो । हिजो संसद्को कार्यकालको अन्तिम दिन महाअभियोग सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त हुने निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाएको छ ।