Kath Khabar
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

 

                 काठमाडौं, असोज ५। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको हो ।

संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । तर दोस्रोपटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक अस्वीकार गर्ने छुट राष्ट्रपतिलाई छैन।

राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक फिर्ता पठाउँदा वैवाहिक अङ्गीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्दा हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गर्नुभएको थियो । यी विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव राष्ट्रपतिको भए पनि यसलाई पूरै बेवास्ता गरेर संसद्को बहुमतबाट विधेयक जस्ताको तस्तै पारित गरी प्रमाणीकरणको लागि फेरि राष्ट्रपतिकोमा पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update