
काठमाडौं, असोज २५ । शेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा.बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा हुनुभएको हो ।
उम्मेदवारी दर्ता गरेपछि उनले आफ्नो उपस्थिति विद्यमान समयमा व्यक्तिगत सृजना र स्वार्थका कार्यभन्दा सामाजिक उत्तरदायित्व र जवाफदेहितालाई अर्थपूर्ण ठानेको बताउनुभएको छ । आफूले यसपटकको चुनावमा जनताको तर्फबाट जनताको जित सुनिश्चित गर्न निश्चित लक्ष्यका साथ प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको उहाँले बताउनुभयो ।
आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो । उहाँ लगानीकर्ताहरूको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ । उहाँले भर्खरै भारतको मैसुर विश्व विद्यालयबाट मौद्रिक नीतिमा विद्यावारिधि गर्नुभएको छ । आफूले युवाहरुको आवाज संसदमा पुर्याउने भएकाले मतदाताले आफूलाई विजय गराउनेमा ढुक्क रहेको बताउनुभयो ।