
काठमाडौं, कात्तिक १ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्ष प्रणालीतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी २ प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित अहिलेसम्म प्रत्यक्ष प्रणालीतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
यस पटक प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भइ अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्नमात्र समावेश गरी मतपत्र छपाइ भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक झन्डै २५ लाख मतपत्र छपाइ गरिरहेको जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण सुरु भइसकेको छ । अहिलेसम्म बाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ ।