
ललितपुर, कात्तिक २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफू सांसद पदमा निर्वाचित भएसँगै मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्ने बचनवद्धता गर्नुभएको छ ।
सो काम अघि बढेसँगै युवाहरूलाई वैदेशिक रोजगारीमा जार्नुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उहाँले उक्त योजना महत्वपूर्ण रहेको सुनाउनुभएको हो । यहाँका वनमा विभिन्न जडिबुटी उत्पादन गर्ने काम युवालाई दिन सके सो बाट ठूलो रकम प्राप्त गर्न सकिने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो- “मुलुकको कूल वनक्षेत्रमा रिठ्ठा तथा कफी एवं अल्लो हुँदै लोक्ता जस्ता बस्तु उत्पादन गरी विभिन्न सामग्री निर्माण गर्न सकिन्छ ।” सो जडिबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गरी मुलुकमै रहन पाउने वातावरण तयार गर्ने खड्काको ध्येय रहेको छ ।
मुलुकमा लोपउन्मुख भएका जडिबुटीलाई खेतीमा रूपान्तर गर्न सके सो को संरक्षणसँगै कयौँ युवाले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको पनि हल हुने खड्काले जिकिर गर्नुभयो । “नेपालमै रहेर उत्पादनशील हुन पाउनु हरेक युवाको राष्ट्रनिर्माण तर्फको दायित्व समेत बढ्न पाउनेछ”, खड्काले थप्नुभयो । आफू हाल एक व्यवसायी रहँदा जानेका सिप तथा ज्ञानलाई इच्छुक युवामा छरि सोबाट आर्थिक उत्थानमा ठूलो भूमिका अघि बढाउने लक्ष्य रहेको खड्काले जिकिर गरेका छन् । खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव सँगसँगै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
उहाँ २०४५ सालमा अनेरास्ववियुमा सङ्गठित हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनमा घाइते भएका खड्का २०५४ सालमा सैंबु गाउँ विकास समिति अध्यक्ष भइसक्नुभएको छ । सोसँगै खड्का गाउँ विकास समिति राष्ट्रिय महासङ्घ ललितपुरका सचिव तथा २०७५ सालमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात सङ्घका अध्यक्ष एवं नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुँदै नेपालको उत्पादन सामथ्र्य र निर्यात क्षेत्रका विज्ञ हुनुहुन्छ ।
नेपालको उत्पादन वृद्धि रोजगारी वृद्धि र निर्यात वृद्धिको विषयमा अनुसन्धानात्मक लेख रचनाहरू प्रकाशित गरिरहने खड्काले सन् २०१३ मा उल ड्रायर ब्याग को विकास गरी युरोप अमेरिकामा प्रख्यात बनाउनुभएको थियो । स्नातक सम्मको शैक्षिक योग्यता हासिल गरिसकेका खड्का हाल कल्पना क्राप्टको प्रोपाइटर हुनुहुन्छ ।