Kath Khabar
गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक


            अगैया (बाँके), कात्तिक ६ । बाँकेमा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीब्र पारिएको छ । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) शनिबार बाँके आए लगत्तै चुनावी अभियानलाई सशक्त पारिएको हो ।

गृहजिल्ला आएलगत्तै उनले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी २ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अथकले परिवर्तनकारी शक्तिबीच भएको गठबन्धनले संविधान र व्यवस्थाको रक्षा गर्ने बताउनुभयो । प्रतिगमनकारीबाट संविधान र ब्यवस्था नै संकटमा परेकाले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पाँच दलबीच गठबन्धन गर्नुपरेको उल्लेख गर्नुहुँदै मन्त्री अथकले परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभयो । तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुन समेत उहाँले गठबन्धनमा आवद्ध कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘ब्यवस्था बद्लियो, अब जनताको अवस्था बदल्न जरुरी छ, पाँच दलीय गठबन्धन भित्रका सबै दलले सबैको अस्तित्वलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्छ,’ उहाँले भन्नुभयो ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाई छ । ‘क्षेत्र नम्बर १ का विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुबान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफू समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकोमा खेलकुद मन्त्री अथकले क्षमा माग्नुभएको थियो । पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्घता समेत उहाँले बताउनुभयो । बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकले बताउनुभयो ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको इमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राख्नुभयो । उहाँले थप्नु भयो, ‘आजको व्यवस्थाप्रति माओवादी र कांग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’ सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले ब्यक्ति भन्दा गठबन्धनको आवश्यकताले उम्मेदवार छनोट भएकाले गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । गठबन्धनको मर्म भन्दा बाहिर नजान समेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले गएको पाँच वर्षमा विकासको आधार तयार पारिएको दाबी गर्दै केही काम बाँकी रहेको र केही पाइप लाईनमा भएको बताउनुभयो ।

यसअघि बाम लोकतान्त्रिक गठबन्धनको बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा १ ‘क’ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरिएको थियो । राप्ती सोनारी गाउँपालिका वडा नं. २ अगैयामा शनिबार कार्यालय उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, पुर्वसभासदद्धय पट्टु थारु र अशोक रोकाय, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, नेपाली काँग्रेस प्रदेश (क) का कार्यबहाक सभापती अम्बर बहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र, क्षेत्र नं। १ संयोजक रेणुका खड्का, कांग्रेसका जिल्ला सदस्य टिकाराम बस्नेत, कांग्रेस राप्ती सोनारी सभापति भिम बहादुर रानाक्षेत्री, नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिमबहादुर घर्ती लगायत गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update