
काठमाडौं, कात्तिक ६। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफूले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ ।
काठमाडौंको छाउनीस्थित बाहिरि संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ मा पूर्वाधार निकासतर्फ आफूले गरेका अधिकांश प्रतिवद्धता पुरा गरेको बताउनुहुँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुना स्थल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरू, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण-संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरू निर्माण, सडक पुल, झोलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश चुनावी प्रतिवद्धता पुरा गरेको उहाँले बताउनुभयो ।
आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ बाट बाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहनुभएका मन्त्री श्रेष्ठले बसन्तपुर-स्वयम्भु-ह्वाइट गुम्वालाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रा लगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गरिने उहाँको भनाइ छ । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उहाँले बताउनुभयो ।
स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथाहोमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको समेत उहाँले बताउनुभएको थियो । पर्यटन नै नेपालको आर्थिक विकासको दिगो स्रोत भएको र कोभिड-१९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफूले ‘पर्यटन दशक २०२३-२०३३’ को अवधारणा अगाडि ल्याएको उहाँको भनाइ छ ।