
काठमाडौं कात्तिक १३। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताउनुभएको छ ।
आइतबार काठमाण्डौ वडा नं ९ स्थित बत्तिसपुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले भ्रष्टाचारीलाई उनीहरूको कालो कर्तुत पर्दाफास गरी वर्षौँदेखि अनधिकृत रुपमा कुम्ल्याएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउँनुपर्नेमा जोड दिनुभयो । यस्ता भ्रष्टचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरुको पक्षमा आवाज उठाउन आफू संसदमा पुग्नुपर्ने दाबी गर्नुभयो । उहाँले आफूले चुनाव जितेमा दशैँ, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिनपनि आँशु पुच्छदै घर, परिवार छोडेर बिदेसिनुपर्ने दिनको अन्त्य हुने बताउनुभयो ।